काठमाडौं । नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सुरु भएको बैठकमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन् ।
प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु हुनुअघि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
यसअघि प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा भारतीय सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो । स्वागतका क्रममा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई न्यानो स्वागत गर्दै अंकमाल गरेका थिए ।
गार्ड अफ अनरपछि प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
आजको भ्रमण कार्यक्रमअन्तर्गत दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।












