काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत व्यापार घाटा, विद्युत् निर्यात, हवाई प्रवेश मार्ग र पारवहनका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले नेपाल र भारतबीचको व्यापार असन्तुलन दीर्घकालीन तथा संरचनात्मक समस्या भएको बताए। उनका अनुसार व्यापारको प्रकृति, निर्यात–आयातको अनुपात र वस्तु विनिमयमा रहेको असमानतालाई सच्याउन नीतिगत पहल आवश्यक छ।

ADVERTISEMENT

भट्टराईले नेपालले कच्चा पदार्थ बढी निर्यात गर्ने र तयारी वस्तु बढी आयात गर्ने अवस्थाले व्यापार सम्बन्धमा असन्तुलन सिर्जना गरेको बताए। नेपाली वस्तुले भारतीय बजारमा सहज पहुँच नपाउनु र गैरभन्सार अवरोध कायम रहनु पनि व्यापार घाटाका कारण रहेको उनको भनाइ छ।

ADVERTISEMENT

उनले खुला सीमा बन्द गर्नुभन्दा व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। दुवै देशका सुरक्षा चासोलाई सम्बोधन गर्दै सीमा व्यवस्थापन गर्न र असमान निर्भरता घटाउने विषयमा छलफल गर्नुपर्ने उनले बताए।

विद्युत् व्यापारलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको महत्त्वपूर्ण एजेण्डा बनाउनुपर्ने भट्टराईको सुझाव छ। नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएकाले भारतमा निर्यात सहज बनाउन र दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न पहल गर्नुपर्ने उनले बताए। बंगलादेशमा विद्युत् निर्यातका लागि आवश्यक मार्गसमेत सहज बनाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, नेपाली कृषि उत्पादन भारत निर्यात गर्दा क्वारेन्टाइन र उत्पत्ति प्रमाणपत्रलगायत प्रक्रियामा हुने झन्झट हटाउनुपर्ने उनले बताए। नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

भट्टराईले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ठूलो लगानीको प्रतिफल लिन पश्चिमतर्फबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पहल गर्नुपर्ने बताए। महेन्द्रनगर, नेपालगञ्जलगायत क्षेत्रबाट हवाई प्रवेशको सुविधा माग गर्नुपर्ने उनको भनाइ छ।

भारतले सुरक्षा संवेदनशीलताको विषय उठाउँदै हवाई मार्गमा शर्त राख्ने गरेको भए पनि त्यसलाई संवाद र कूटनीतिक पहलबाट समाधान गर्न सकिने उनले बताए।

भारतसँगको सम्बन्धमा मागेर मात्रै उपलब्धि हासिल नहुने उल्लेख गर्दै भट्टराईले नेपालको आफ्नै आर्थिक तथा रणनीतिक सामर्थ्य बढाउनुपर्नेमा जोड दिए। आपसी आरोपप्रत्यारोपभन्दा संवाद र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई व्यापार, ऊर्जा, पारवहन, हवाई मार्ग र सीमा व्यवस्थापनलगायत विषयमा ठोस पहल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने भट्टराईको सुझाव छ।