काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन्।
दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले रास्वपाभित्रको आन्तरिक शक्ति संघर्षले राज्यका निकायसम्म प्रभाव पारेको आरोप लगाए।
उनले सर्वोच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्ति र प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनको घटनालाई लामिछाने र प्रधानमन्त्री शाहबीचको शक्ति संघर्षसँग जोडेर व्याख्या गरे। उक्त खिचातानी पार्टीभित्र मात्रै सीमित नरहेको उनको भनाइ थियो।
पुनले सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप बढिरहेको आरोपसमेत लगाए। राजनीतिक निकटताका आधारमा सरकारले फरक–फरक व्यवहार गरिरहेको दाबी गर्दै उनले रवि लामिछानेनिकट मानिएकाहरूमाथि पक्राउ तथा धरपकड हुने गरेको र प्रधानमन्त्री शाहनिकट मानिएकाहरूलाई भने उन्मुक्ति दिने गरिएको आरोप लगाए।
त्यस्तै, पूर्वप्रधानन्यायाधीश, सचिव तथा उद्योगी–व्यवसायी पक्राउ परेका घटनालाई उल्लेख गर्दै पुनले सरकारले कानुनी विधि र प्रक्रिया मिचेको आरोप लगाए।
कतिपय व्यक्तिलाई पक्राउ गरेर पछि रिहा गरिएको प्रसंग उठाउँदै उनले सरकारी कारबाहीको आधार र प्रक्रियामाथि प्रश्न गरेका थिए।
रास्वपाभित्रको शक्ति संघर्ष र सरकारका गतिविधिबारे पुनले लगाएका यी आरोपले सत्तारूढ दलको आन्तरिक सम्बन्ध तथा सरकारको कार्यशैलीमाथि राजनीतिक बहस थप चर्काएको छ।












