काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । साथै, आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि राजदूत दलेलासँग जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए ।
उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी गराएका थिए ।












