काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विभिन्न क्षेत्रका २० उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको छ । विभागले विषयगत क्षेत्रअनुसार सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई छनोट गरी सम्मान गरेको हो ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ । व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा बढी कर दाखिला गर्नेमा हिमालयन डिस्टिलरी लिमिटेड परेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधि क्षेत्रबाट तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् ।
प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद कर दाखिला र व्यवसाय सञ्चालनलाई निरन्तरता दिएको भन्दै भाटभटेनी सुपरमार्केटलाई ‘एक्सेप्सनल बिजनेस’ विधामा उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । कम्पनीका तर्फबाट सावित्री गुरुङले सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी थिइन् ।
उत्कृष्ट करदाता तथा कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले प्रमाणपत्र प्रदान गरेका थिए ।
यस वर्षका २० उत्कृष्ट करदाता
1. निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला: सूर्य नेपाल
2. एकलौटी व्यवसाय: थर्ड आई इन्टरनेसनल
3. वस्तु निर्यात कारोबार: डाबर नेपाल प्रालि
4. सूचना प्रविधि: तिन फाइनाइट सर्भिसेस नेपाल
5. कृषि तथा पशुपन्छी व्यवसाय: ओसीबी फुड्स एन्ड फिड्स
6. बैंकिङ क्षेत्र: नबिल बैंक
7. स्वास्थ्य तथा शैक्षिक संस्था: नोबेल कलेज तथा टिचिङ हस्पिटल
8. पर्यटन व्यवसाय: सोल्टी होटल लिमिटेड
9. वस्तु व्यापार कारोबार: सीजी इम्पेक्स प्रालि
10. ५० देखि १०० करोड रुपैयाँसम्मको कारोबार: फुड एन्ड बेभरेज रिसर्च सेन्टर प्रालि
11. ऊर्जामूलक कम्पनी: भोटेकोशी पावर प्रालि
12. रेमिट्यान्स तथा मनी एक्सचेन्ज: आईएमई लिमिटेड
13. व्यक्तिगत आय: राजबहादुर शाह
14. मूल्य अभिवृद्धि कर (भ्याट): हिमालयन डिस्टिलरी लिमिटेड
15. ५० करोड रुपैयाँसम्मको कारोबार: इम्पेरियल सेक्युरिटिज प्रालि
16. विशेष उद्योग: वरुण बेभरेज नेपाल प्रालि
17. जीवन बीमा: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
18. निर्जीवन बीमा: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
19. लघुवित्त: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
20. एक्सेप्सनल बिजनेस: भाटभटेनी सुपरमार्केट












