काठमाडौं । दशैंका लागि ३ हजार रुपैयाँको सामान खरिद गरेकी नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत उनी असोज महिनाको दोस्रो पाक्षिककी बम्पर विजेता बनेकी हुन्।
तामाङले नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरी बिल लिएकी थिइन्। उक्त बिलसँग सम्बन्धित कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए। विजेता घोषणा भएपछि उनीहरूले तामाङलाई फोन गरेर पुरस्कार जितेको जानकारी दिएका थिए।
आन्तरिक राजस्व विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म बिल प्रविष्ट गरिएका २ लाख ७५ हजार ८८४ कारोबार र क्यूआर भुक्तानीबाट स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार गरी कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।
बम्पर उपहारसँगै उक्त अवधिका प्रत्येक दिनका एक जनाका दरले १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। उनीहरूले कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ।
विभागले विजेताहरूलाई सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी पुरस्कार दाबी गर्न आग्रह गरेको छ।











