काठमाडौँ — आन्तरिक राजस्व विभागले आज पहिलो ‘करदाता उपहार कार्यक्रम’का विजेताको घोषणा गर्ने भएको छ। साउन १ गतेदेखि १५ गतेसम्म अनलाइन वा नगदमार्फत वस्तु तथा सेवा खरिद गरी कार्यक्रमको मापदण्ड पूरा गरेका उपभोक्तामध्येबाट विजेता छनोट गरिनेछ।

विभागका अनुसार उक्त अवधिको हरेक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले कर कट्टीपछि जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, साउन १ देखि १५ गतेसम्म खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ नगद पाउनेछन्। पुरस्कार रकममा कर लाग्ने विभागले जनाएको छ।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अब प्रत्येक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाअन्तसम्मको कारोबार) उपहार विजेता घोषणा गरिनेछ।

ADVERTISEMENT

बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत भुक्तानी गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर उपहार दाबी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।

ADVERTISEMENT

नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि मात्र कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।