काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार जलवायु परिवर्तन र त्यसका प्रभावले नेपालको संस्कृति, सभ्यता तथा अस्तित्वमै चुनौती सिर्जना गरिरहेकाले जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन र जलवायु प्रतिकार्यका काम अघि बढाउन शाखा स्थापना गरिएको हो।

ADVERTISEMENT

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै क्षेत्रीले शाखाले कूटनीतिक गतिविधिसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्यांक संकलनको काम पनि गर्ने बताए।

ADVERTISEMENT

उनका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने तथा जलवायु प्रतिकार्यका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

जलवायुजन्य विपद्को तथ्यांक संकलनका लागि नेपालमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने विभिन्न निकायसँग समेत शाखाले समन्वय गर्ने क्षेत्रीले बताए।

ADVERTISEMENT

उनले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय, जलवायु परिवर्तन र प्रभावबारे संस्थागत काम तथा जलवायु प्रतिकार्यलाई शाखाको मुख्य जिम्मेवारीका रूपमा व्याख्या गरे।

नेपालमा विभिन्न मन्त्रालय तथा निकायबाट जलवायु परिवर्तन र त्यसका प्रभावसम्बन्धी भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउने उद्देश्यसमेत शाखाको रहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता क्षेत्रीका अनुसार शाखा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहनेछ।

अन्तर्राष्ट्रिय मञ्चमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन तथा सभामा नेपालको सहभागिताका क्रममा सरकारको कार्ययोजना र आवश्यक गृहकार्यमा समेत शाखाले सहयोग गर्ने अपेक्षा गरिएको छ।

क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय समुदायसँग जलवायु परिवर्तनका विषयमा प्रभावकारी कूटनीतिक बहस गर्न यस्तो संस्थागत संयन्त्रको आवश्यकता यसअघि नै महसुस गरिएको थियो। पछिल्लो समय रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीले त्यस आवश्यकतालाई थप बल दिएको उनको भनाइ छ।