काठमाडौँ । देशमा पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित ‘अकवान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका धेरै स्थानमा भने तुवाँलो र हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित अकवान चक्रवातको हालसम्मको अवस्था विश्लेषण गर्दा नेपालमा लगातार र ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । यद्यपि आगामी दिनमा चक्रवातको गति र दिशा विश्लेषण गरी मौसमसम्बन्धी थप जानकारी अद्यावधिक गरिने उनीहरूले बताएका छन् ।












