काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा छ ।
महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ । बाँकी हिमाली भूभाग, देशका पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली हुने अनुमान छ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । मधेस र कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।












