काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएकोमा बधाई दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले कात्तिक २४ गते विज्ञप्ति जारी गर्दै वाग्लेलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन्।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा काम गर्दै आएका वाग्लेले रसुवा–भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाएको रास्वपाको भनाइ छ। जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि उनले गरेको नेतृत्व तथा पहल नेपालका लागि महत्वपूर्ण रहेको पार्टीले जनाएको छ।
बाढीपछि वाग्लेको नेतृत्वमा प्रभावित क्षेत्रको आवश्यकताको द्रुत आकलन गरिएको र कार्बन उत्सर्जनमा नगण्य योगदान रहेका नेपालजस्ता देशले भोग्नुपरेको विपद् तथा त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको दायित्वबारे तथ्यमा आधारित वकालत गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने पहल वाग्लेले गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नागरिकका लागि अर्बौँ आर्थिक सहायता परिचालन गर्न सफल हुनु उनको अर्को महत्वपूर्ण योगदान हो।’
रास्वपाले वाग्लेको उपलब्धि व्यक्तिगत सम्मानमा मात्र सीमित नभई जलवायु संकटबाट प्रत्यक्ष प्रभावित नेपालजस्ता देश र समुदायको सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको जनाएको छ।
जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसको असर असमान रूपमा भोग्नुपरेको उल्लेख गर्दै पार्टीले प्रभावित समुदायका लागि पर्याप्त जलवायु वित्त, अनुकूलन सहयोग र न्यायोचित सम्बोधन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।
रास्वपाले यस उपलब्धिलाई नेपालको जलवायु कूटनीति र न्यायपूर्ण जलवायु कार्यका लागि थप जिम्मेवारी तथा अवसरका रूपमा लिएको छ। आगामी दिनमा पनि जलवायु संकटबारे नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउन र प्रभावित नागरिकका लागि न्याय सुनिश्चित गर्न वाग्लेले योगदान पुर्याउने विश्वास पार्टीले व्यक्त गरेको छ।













