काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गरेको छ।

महानगरले विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो। विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनसम्बन्धी चार प्रस्तावमा निर्णय गरिएको र उनीहरू आइतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिएकी छन्।

ADVERTISEMENT

डङ्गोलका अनुसार बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न यो व्यवस्था गरिएको हो र यसलाई शैक्षिक कार्यक्रम मात्र नभई मानवीय सेवा पनि मानिएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमिति अध्यक्ष गगनसिंह ऐरले बालबालिकाको अध्ययनका लागि सहयोग गरिएको बताएका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन्।

होल्डिङ सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको थियो। शिक्षा विभागका अनुसार केही बालबालिका अभिभावकसँग भाडाको घरमा बस्न गएका छन्।

हाल प्याब्सनअन्तर्गत १० र एनप्याब्सनअन्तर्गत ३ विद्यालयसँग सम्झौता गरिएको छ। प्याब्सनअन्तर्गत एन्जल हर्ट स्कुल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बूढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शङ्खमूल, हेम्स स्कुल कालोपुल, केएमसी शङ्खमूल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कुल जोरपाटी र सुप्रिम इन्टरनेसनल स्कुल चावहिल रहेका छन्।

त्यस्तै एनप्याब्सनअन्तर्गत प्रोग्रेसिभ सेकेन्डरी स्कुल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कुल मन्डिकाटारसँग सम्झौता गरिएको छ।

बालबालिकालाई निःशुल्क अध्ययनको अवसर प्राप्त भएपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन्।