काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवराज गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनपछि नेपालको संविधान ‘कोमा’मा पुगेको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान नाममा मात्र सीमित भएको र लोकतान्त्रिक व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको दाबी गरे।
गुरुङले भने, ‘नेपालको संविधान र नेपालको डेमोक्रेसी एक प्रकारले सिध्याइसकेको छ। जेनजी आन्दोलनदेखि संविधानलाई कोमामा पुर्याइसकेको छ।’
उनले अहिले संविधानको प्रभावकारी कार्यान्वयन नभएको र बहुदलीय लोकतान्त्रिक व्यवस्था पनि नाममा मात्र सीमित रहेको जिकिर गरे। लोकतन्त्र कमजोर बन्दै गएको भन्दै संविधान र वर्तमान व्यवस्थाको रक्षाका लागि सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।
विश्वमा बढ्दो युद्ध र साम्राज्यवादी हस्तक्षेपविरुद्ध उत्पीडित राष्ट्रहरूबीच व्यापक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गुरुङले नेपालसहित एशिया, ल्याटिन अमेरिका र अफ्रिकाका धेरै मुलुक साम्राज्यवादको प्रभावमा परेको बताए।
उनले शान्ति, स्थिरता र दिगो विकासका लागि राष्ट्रहरूबीच आपसी समझदारी र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्वतन्त्र राष्ट्रहरूले आफ्ना संविधान, कानुन, अर्थतन्त्र र मूल्य–मान्यताअनुसार शान्ति र समृद्धिको मार्गमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।






