काठमाडौं । युक्रेनको दक्षिणी जापोरिझा क्षेत्रमा रहेको मानवीय सहायता केन्द्रमा रुसी बमबारी हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूले यसलाई नागरिकमाथि भएको भीषण आक्रमण भनेका छन्।

क्षेत्रीय प्रमुख माइखाइलो सेमिकिनका अनुसार कोमिसुभाखा गाउँमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम खसालिएका थिए। आक्रमणपछि घटनास्थलमा ठूलो खाल्डो बनेको छ भने भवनहरू भग्नावशेषमा परिणत भएका छन्।

ADVERTISEMENT

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्थानीय विद्यालयलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिएको थियो। त्यहाँ प्रत्येक सोमबार स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरिँदै आएको थियो।

ADVERTISEMENT

जेलेन्स्कीले पहिलो आक्रमणपछि मानिसहरू आश्रय लिन पुगेको स्थानमै दोस्रो आक्रमण गरिएको बताएका छन्। सुरुमा २७ जना बेपत्ता भएको जानकारी दिइएको थियो। उद्धार टोलीले भग्नावशेषमा खोजी गरिरहेको भिडियोसमेत उनले सार्वजनिक गरेका छन्।

जेलेन्स्कीले सुरुमा आक्रमणमा १८ जनाको मृत्यु भएको बताएका थिए। तर, सोमबार अबेर सार्वजनिक भिडियो सम्बोधनमार्फत मृतकको संख्या २६ पुगेको जानकारी दिएका हुन्।

उनले स्थानीय बासिन्दाले नियमित रूपमा मानवीय सहायता प्राप्त गर्ने गरेको जानकारी रुसी पक्षलाई पनि रहेको दाबी गर्दै आक्रमणले रुस तनाव कम गर्न इच्छुक नरहेको देखाएको आरोप लगाए।

यस आक्रमणबारे रुसी सेनाले भने सार्वजनिक टिप्पणी गरेको छैन। घटनाको शोकमा मंगलबार जापोरिझा क्षेत्रमा एक दिन शोक घोषणा गरिएको छ।