काठमाडौँ, १३ फागुन। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान र अन्य पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। देशका अधिकांश पहाडी र हिमाली भूभागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार आज बिहान तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा दिउँसो मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ। गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले हुस्सु, तुँवालो, वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा यातायात सञ्चालन गर्नेहरूलाई सावधानी अपनाएर दैनिक कामकाज गर्न अनुरोध गरिएको छ।