काठमाडौं। जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि थप सक्रिय हुने पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

ADVERTISEMENT

यस्तै, देशका पहाडी तथा तराई भू–भागका धेरै स्थान र हिमाली भू–भागका केही स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव र भू–क्षय, नदी तथा खोलामा पानीको सतह बढ्ने, तराई तथा सहरी क्षेत्रमा डुबान र कटानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

ADVERTISEMENT

यस अवधिमा यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, नदी तथा खोलाको आसपास अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन तथा सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन पनि आग्रह गरेको छ।