काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ।

ADVERTISEMENT

यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईमा आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकीका तराईका केही स्थान, कोशी र मधेसका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।