कर्णाली । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार सुरु गरिएको छ । केही दिनदेखि परेको हिमपातका कारण माथिल्लो डोल्पाको यात्रामा रहेका उनीहरू अलपत्र परेका थिए ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पातर्फ अघि बढेका पर्यटकहरू प्रतिकूल मौसमका कारण दानीगढमा रोकिएका थिए ।

ADVERTISEMENT

अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् । उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिएकी छन् ।

ADVERTISEMENT

उनका अनुसार पर्यटकहरू फसेको क्षेत्रमा मोबाइल नेटवर्क उपलब्ध नभएकाले उनीहरूसँग प्रत्यक्ष फोन सम्पर्क हुन सकेको छैन । यद्यपि, उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीको सम्पर्कमा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी ढकालले भनिन्, “अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ । पर्यटकहरू फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन । उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन् ।”

प्रशासनका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको थियो । तर, उक्त प्रतिबन्धका बाबजुद पर्यटकहरू माथिल्लो डोल्पातर्फ गएको बताइएको छ ।

भारी हिमपातका कारण माथिल्लो डोल्पाका विभिन्न क्षेत्रमा आवागमन प्रभावित भएको छ । प्रतिकूल मौसमले पदयात्री तथा पर्यटकको सुरक्षामा जोखिम बढाउन सक्ने भएकाले प्रशासनले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकूलताका कारण सिर्जना भएका र हुन सक्ने जोखिमप्रति सजग रहन तथा सुरक्षित रहन सबैलाई अनुरोध गरेकी छन् ।