काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन् । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार अधिकांश उजुरी सैद्धान्तिक प्रकृतिका छन् भने एक–दुईवटा मात्रै तथ्यमा आधारित छन् ।

समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गरेको थियो । शुक्रबारसम्म आठवटा उजुरी प्राप्त भएको र उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेकाले संख्या थप बढ्न सक्ने सभापति श्रेष्ठले बताएका छन् ।

ADVERTISEMENT

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत तथा सर्वोच्च अदालतमा काजमा रहेका न्यायाधीश गोकर्ण डाँगी छन् ।

ADVERTISEMENT

संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूविरुद्ध प्राप्त उजुरीमाथि अध्ययन तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ । उजुरी दिने समय सकिएपछि समितिले सम्बन्धित व्यक्तिहरूलाई सुनुवाइका लागि बोलाउने र आवश्यक प्रक्रिया पूरा गर्नेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै सिफारिस भएका व्यक्तिहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन सक्नेछन् ।