काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशमा इलामको मेची राजमार्ग (राजदुवाली खण्ड) र उदयपुरको सिद्धिचरण लोकमार्ग (कटारी खण्ड) पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। मेची राजमार्गमा भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ। भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ।

ADVERTISEMENT

बागमती प्रदेशमा मकवानपुरको कान्ति लोकपथका भीमफेदी र हेटौँडा–ठिङ्गन खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी खण्डस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ। साथै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रे खण्डको बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ।

ADVERTISEMENT

लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक पूर्ण रूपमा बन्द छ भने गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरोका कारण एकतर्फी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशको कास्कीस्थित नयाँपुल–घान्द्रुक सडक र बागलुङको मध्य पहाडी लोकमार्ग तथा कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडक खण्ड पनि पहिरोका कारण एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

ADVERTISEMENT

नेपाल प्रहरीले वर्षाका कारण प्रभावित सडकमा यात्रा गर्दा सम्बन्धित निकायको सूचना पालना गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

747777978_1064990632737263_1803811237367259225_n