काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकमा निरन्तरता दिएको छ।

श्रीलंकाका पूर्व तीव्र गतिका बलर प्रसादले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० खेल खेलेका छन्। उनले अमेरिका राष्ट्रिय टोलीसँगै नेपाल र ओमानको बलिङ प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन्।

ADVERTISEMENT

त्यसैगरी, उनले लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्स, क्यान्डी बोल्ट्स र क्यान्डी रोयल्ससँग आबद्ध भएर काम गरेका थिए। बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा उनको अनुभवलाई ध्यानमा राख्दै विराटनगरले उनलाई पुनः जिम्मेवारी दिएको हो।

ADVERTISEMENT

विराटनगरले तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा चरिथ असलंका र शुभम रन्जनेलगायतलाई पनि अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणका काम भइरहेका छन्।

ADVERTISEMENT

मैदानमा दर्शकका लागि नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ। प्यारापिटमा पहेँलो, रातो, सुन्तला र सेतो रङका कुर्सी जडान गरिएका छन्।

त्यस्तै, सवारीसाधन पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ। विदेशी कमेन्टेटर र टेलिभिजन प्राविधिकका लागि वातानुकूलित तथा आधुनिक प्रविधियुक्त कार्यकक्ष तयार पार्ने कामसमेत भइरहेको छ।

प्रतियोगिताका क्रममा दर्शकको चाप बढ्न सक्ने अनुमान गर्दै नेपाल प्रहरी र आयोजकले सुरक्षा योजना पनि तयार पारेका छन्।