काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरूलाई उजुरी वा आरोपकै आधारमा निष्कर्षमा नपुग्न आग्रह गरेका छन् ।
शुक्रबार कानून समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले सांसदहरू आफैं न्यायाधीश बन्न नमिल्ने बताएका हुन् । उनले कुनै व्यक्तिमाथि आरोप लाग्दैमा त्यसलाई सत्य मानेर चरित्रहत्या गर्न नहुने धारणा राखे ।
गृहमन्त्री गुरुङले उजुरीको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै आरोप पुष्टि नभएसम्म संयम अपनाउनुपर्ने बताए । उनका अनुसार आरोप जोसुकैले लगाउन सक्ने भए पनि आरोप पुष्टि हुनु आवश्यक हुन्छ । उनले भने, ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । आरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन।’
गृहमन्त्री गुरुङले आईजीपी कार्कीसहित गृह मन्त्रालयअन्तर्गतका कर्मचारी सरकारको स्पिरिटअनुसार काम गर्न खटिएको पनि बताए । आईजीपीमाथि उठेका विषयमा गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आरोपका आधारमा मात्रै कर्मचारीको भूमिकामाथि प्रश्न उठाउन नहुने बताए ।
उनले भने, ‘यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जोसुकैले लगाउन सक्छन्।’
गृहमन्त्री गुरुङले विषय गम्भीर भएकाले आफूलाई समेत यसबारे कहाँ गएर कुरा राख्ने भन्ने अवस्था सिर्जना भएको बताए । यद्यपि आरोप पुष्टि नभएसम्म त्यसकै आधारमा निष्कर्ष निकाल्न नमिल्ने उनको जोड थियो ।
आईजीपी कार्कीमाथि उठेका आरोप तथा उजुरीका विषयमा संसद्को कानून समितिमा छलफल भइरहेका बेला गृहमन्त्रीको यस्तो धारणा आएको हो । उनले आरोपको सत्यता प्रमाणित गर्ने प्रक्रिया पूरा नभएसम्म सम्बन्धित व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्नु उचित नहुने बताएका छन् ।






