चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। मंगलबार बिहान भएको दुर्घटनापछि राजमार्गको उक्त खण्डमा एकतर्फी यातायात अवरुद्ध भएको छ।

प्रहरीचौकी कुरिनटारका अनुसार बिहान करिब ९ः२० बजे काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो।

ADVERTISEMENT

ठक्करपछि अनियन्त्रित भएको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा बस र माइक्रोबसमा सवार यात्रु घाइते भएका हुन्। घाइतेमध्ये पाँच जनाको पहिचान खुलेको छ। बाराको निजगढका ४२ वर्षीय कुमार जोशीको टाउकोमा चोट लागेको छ। पूर्वी नवलपुरको कावासोती नगरपालिका–३ का ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमालको दायाँ खुट्टामा चोट लागेको छ।

ADVERTISEMENT

त्यस्तै, झापाको दमक नगरपालिका–३ की ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्। पोखरेलको शरीरमा बाहिरी चोट नदेखिएको र भट्टराईको दायाँ आँखामाथि चोट लागेको जनाइएको छ।

प्रहरीका अनुसार पहिचान खुलेका पाँचै जनाको अवस्था सामान्य छ। उनीहरूको कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल तथा सशस्त्र प्रहरी बलको पृथ्वी हाईवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि पृथ्वी राजमार्गको उक्त खण्डमा एकतर्फी यातायात अवरुद्ध भएको छ। प्रहरीले सवारी आवागमन सहज बनाउन प्रयास भइरहेको जनाएको छ।