चितवन। जाडो याम सुरु भएसँगै नारायणी नदी क्षेत्रको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक बन्ने गरेको छ। चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मैदानहरू शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुहरूको चहलपहलले जीवन्त देखिन्छन्।

हरेक वर्ष उत्तरी एशिया, साइबेरिया, मध्य एशिया तथा तिब्बती उच्चभूमिबाट हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आउने आप्रवासी चराहरूका लागि नारायणी नदी एक महत्वपूर्ण आश्रयस्थल बनेको छ। यहाँ चखेवा (Ruddy Shelduck), खोया हाँस (Bar-headed Goose), रणमत्त महाचील (Eastern Imperial Eagle), लगु राजपुत्रिका (Little Ringed Plover) लगायतका प्रमुख आप्रवासी चराहरू देख्न सकिन्छ।
यसका साथै मणितुण्डक हाँस (Goosander) जस्ता जलचर र आसपासका वन क्षेत्रमा पाइने मयूर (Peacock) को उपस्थितिले नारायणी क्षेत्रको जैविक विविधतालाई अझ समृद्ध बनाएको छ। यी चराहरू उत्तरी क्षेत्रहरूमा अत्यधिक चिसो, हिउँ तथा आहारको अभाव भएपछि सुरक्षित बासस्थान र अनुकूल मौसमको खोजीमा नेपालतर्फ आउने गर्छन्।

नारायणी नदी तथा यससँग जोडिएका सिमसार र बगर क्षेत्रहरू जाडो याम बिताउनका लागि आप्रवासी चराहरूका लागि उपयुक्त स्थान मानिन्छन्। यी प्रजातिहरूले यस क्षेत्रको पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। शीतकालीन आप्रवासी चराहरू सिमसार क्षेत्रको स्वास्थ्य अवस्था र वातावरणीय सन्तुलनका महत्वपूर्ण सूचकका रूपमा लिइन्छन्।
तर पछिल्ला वर्षहरूमा सिमसार क्षेत्रको संकुचन, नदी प्रदूषण, अवैध सिकार र बढ्दो मानवीय दबाबका कारण आप्रवासी चराहरूको बासस्थान जोखिममा पर्दै गएको छ। त्यसैले नारायणी नदी र यससँग सम्बन्धित सिमसार क्षेत्रहरूको संरक्षण अत्यन्त आवश्यक देखिएको छ।
नारायणी नदीमा हिउँदका बिहान देखिने यी मनमोहक दृश्यहरूले प्रकृतिको अनुपम सौन्दर्य मात्र होइन, जैविक विविधता संरक्षणको गहिरो सन्देश पनि बोकेका छन्।






