काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंकको वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।

सभाबाट २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय प्रतिवेदनहरू अनुमोदन गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

साधारण सभाले सञ्चालक समितिको प्रस्तावअनुसार सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि बैंकको हाल कायम साधारण शेयर पुँजीको २:१ अनुपातमा हकप्रद शेयर (राइट शेयर) जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ। यससँगै बैंकको पुँजी विस्तार तथा वित्तीय सुदृढीकरणको बाटो खुला भएको छ।

त्यसैगरी, सभाले संस्थापक शेयरधनी समूहबाट अशोककुमार अग्रवाल, रामचन्द्र संघई र जयन्तकुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनी समूहबाट आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकले आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङ विस्तार तथा वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।