काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भूभाग तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली भएको छ। गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने थोरै स्थानमा चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना छ।
यस्तै, मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
राति कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।







