काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् ।

नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ ।

ADVERTISEMENT

यो समाचार तयार पार्दासम्म पाल्पाको बल्ड्याङगढीमा वर्षा मापन केन्द्रमा १२८.६ मिलिमिटर र कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर वर्षा भएको छ । कपिलवस्तुकै शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा पनि ११७ मिलिमिटर वर्षा भएको छ ।

ADVERTISEMENT

गण्डकीको तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पनि वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार बंगालको खाडीको न्यूनचापीय क्षेत्रको प्रभावले देशभर वर्षा हुने भए पनि लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरुमा बढी असर गर्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

यद्यपि पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्मै सतर्कता आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् ।

ADVERTISEMENT

आजदेखि पानी पर्नेक्रम अझै बढ्ने

उनीहरुका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्ने र केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ  । यस्तै कोशी र बागमती प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।

आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छट । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।