काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार हुने भनिएको बन्द सत्र हावाहुरीसहितको ठूलो वर्षाका कारण प्रभावित भएको छ।बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि साढे ११ बजेबाट सञ्चालन गर्ने तयारी गरिएको थियो। तर अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू भेला हुन सकेका छैनन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आजको बन्द सत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी थियो। तर मौसम प्रतिकूल भएपछि निर्धारित कार्यक्रम प्रभावित भएको हो।
कांग्रेसको बन्द सत्र खुलामञ्चमा सञ्चालन भइरहेको थियो भने भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूका लागि खाना व्यवस्थापन गरिएको छ। राष्ट्रिय सभा गृहमा केन्द्रीय निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ।
बन्द सत्रको कार्यक्रमपछि सभापति गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसले गरेको छ।
महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा, संगठनात्मक संरचना तथा अन्य विषयमा छलफल भइरहेको छ। राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।
यसअघि नै नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भइसकेको छ। सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। निर्वाचन प्रक्रिया अघि बढेसँगै कांग्रेसको १५औँ महाधिवेशन अब नेतृत्व चयनतर्फ केन्द्रित हुँदैछ। मतदानको कार्यक्रम भने बिहीबार बिहानबाट सुरु हुने तय भएको छ।







