काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो तथा भोटेकोशी बाढीका कारण विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा क्षति पुग्दा करिब ६२० मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा ९ असोजको बाढीपहिरोबाट १९० मेगावाट र भोटेकोशी बाढीबाट ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको जानकारी दिए ।

ADVERTISEMENT

९ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको थियो । अधिकांश प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा समेत पहिरो पसेको छ । संरचना सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब ९० दिन लाग्ने अनुमान गरिएको छ । स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ ।

त्यस्तै, कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण ७ वटा जलविद्युत् आयोजनाको करिब १९० मेगावाट उत्पादन प्रणालीमा जोडिन सकेको छैन ।

ADVERTISEMENT

राहुघाट सबस्टेसनमा कनेक्सन भए पनि बाढीका कारण अवरुद्ध अवस्थामा रहेको जनाइएको छ । ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना बाहेक करिब १२७ मेगावाट उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको श्रेष्ठले बताए ।

हाल बाढी तथा संरचनामा भएको क्षतिका कारण ६ वटा विद्युत् आयोजना गरी २३० मेगावाट क्षमता प्रणालीबाट बाहिर रहेको प्राधिकरणको विवरण छ ।

यसबीच सेती–मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट र मर्स्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र पनि सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रसारण लाइनमा पनि क्षति

बाढीका कारण प्रसारण संरचनामा समेत क्षति पुगेको छ । कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले जनाएको छ ।

क्षतिग्रस्त स्थानसहित अन्य क्षेत्रमा समेत निरीक्षण गर्न प्राविधिक टोली परिचालन गरिएको छ । विस्तृत क्षति विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

बाढीका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, प्युठान र रोल्पामा विद्युत् आपूर्ति प्रभावित भएको थियो ।

प्राधिकरणका अनुसार म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र र पूर्वी रुकुममा विद्युत् आपूर्ति पुनः सुरु भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने योजना रहेको छ ।

यसअघि १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी प्रसारण लाइन तथा विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो । त्यसबाट करिब ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा प्राधिकरण तथा सहायक कम्पनीका संरचनामा पुगेको क्षतिको प्रारम्भिक अनुमान ८ अर्ब ७४ करोड रुपैयाँ रहेको श्रेष्ठले बताए ।

प्राधिकरणले क्षतिग्रस्त उत्पादन, प्रसारण तथा वितरण संरचनाको अवस्था मूल्यांकन गरी पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ ।