काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत ‘वेस्ट सेती ४०० केभी प्रसारणलाइन आयोजना’ कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ।

यससम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको हो। आयोजनाअन्तर्गत पश्चिम नेपालमा उत्पादित जलविद्युत् ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तथा विद्युत् निर्यातलाई सहज बनाउन करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माण गरिनेछ।

प्रस्तावित प्रसारणलाइनले बझाङको चैनपुरस्थित १६० एमभीए क्षमताको ४००/१३२ केभी सबस्टेसन, डोटीको बनलेकस्थित ३१५ एमभीए क्षमताको ४००/१३२ केभी सबस्टेसन तथा कैलालीको दोधारामा निर्माणाधीन सबस्टेसनलाई आपसमा जोड्नेछ।

ADVERTISEMENT

आयोजनाले पश्चिम नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, भारतलगायत बाह्य बजारमा विद्युत् निर्यातका लागि आवश्यक प्रसारण पूर्वाधार विकासमा समेत यस आयोजनाले योगदान पुर्‍याउने बताइएको छ।

ADVERTISEMENT