काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानको सम्पत्ति एक वर्षमा २ हजार ५०० करोड भारतीय रुपैयाँले घटेको छ । यद्यपि, उनी भारतकै सबैभन्दा धनी अभिनेता बनेका छन् ।
हुरुन इन्डिया रिच लिस्ट २०२६ अनुसार शाहरुखको कुल सम्पत्ति १० हजार करोड भारु पुगेको छ । उनको सम्पत्तिमा निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट र आईपीएल टोली कोलकाता नाइट राइडर्स स्पोर्ट्सको योगदान रहेको रिपोर्टमा उल्लेख छ ।
धनी अभिनेताको सूचीमा अमिताभ बच्चन ४ हजार करोड भारुको सम्पत्तिसहित दोस्रो स्थानमा छन् । उनको सम्पत्ति गत वर्षको १ हजार ६३० करोडबाट बढेर ४ हजार करोड पुगेको छ ।
त्यस्तै, सलमान खान ३ हजार करोड भारुको सम्पत्तिसहित पहिलोपटक हुरुनको धनी अभिनेताको सूचीमा परेका छन् । ऋतिक रोशन २ हजार ५०० करोड भारुको सम्पत्तिसहित सूचीमा छन् ।
गत वर्ष २ हजार १६० करोड रहेको उनको सम्पत्ति यस वर्ष ३४० करोडले बढेको हो । उनको फिटनेस तथा लाइफस्टाइल ब्रान्ड HRX को मूल्य बढ्नु सम्पत्ति वृद्धिको प्रमुख कारण रहेको रिपोर्टमा उल्लेख छ ।
यसपटक अभिनेत्री जुही चावला र फिल्म निर्माता करण जोहर भने सूचीबाट बाहिरिएका छन् । गत वर्ष जुहीको सम्पत्ति ७ हजार ७९० करोड र करण जोहरको १ हजार ८८० करोड भारु रहेको थियो ।







