मुम्बई । कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही दौडमा अग्रपङ्क्तिमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ ।

खुशवन्त सिंहको सन् २०१४ को लोकप्रिय उपन्यासमा आधारित यो फिल्म यसै गर्मीमा प्रदर्शनका लागि तयारी अवस्थामा छ । परम्परागत फिल्म निर्माणभन्दा फरक, यसमा कलाकार, महँगो सेट वा लामो सुटिङ तालिकाको आवश्यकता नपरेको निर्माण टोलीले जनाएको छ । ‘यहाँ कलाकारको पारिश्रमिक छैन, ढिलाइको झन्झट छैन, सेट निर्माणको बोझ पनि छैन-यो दिमाग र मेसिनबीचको सिर्जनात्मक सहकार्य हो’, सिंहले भने ।

भारतीय फिल्म उद्योगले बर्सेनि दुई हजारभन्दा बढी फिल्म उत्पादन गर्ने क्षमतासहित एआईलाई छिटो आत्मसात गरिरहेको छ । यसको विपरीत, हलिउडमा भने एआईको प्रयोगलाई लिएर विवाद, हड्ताल र कडा युनियन सर्तहरू देखिएका छन् । भारतमै ‘चिरञ्जीवी हनुमानः द इटर्नल’ र कन्नड भाषाको ‘लभ यु’ जस्ता परियोजनाहरू पनि एआईमा आधारित अग्रगामी प्रयासका रूपमा प्रस्तुत भइरहेका छन् ।

यद्यपि, सबै परियोजनाहरू सहज छैनन् । ‘नाइशा’ नामक अर्को एआई फिल्म प्राविधिक समस्याका कारण निर्धारित समयमै प्रदर्शन हुन सकेन । ‘महाराजा इन डेनिम्स’ पनि एआई प्रविधिको तीव्र विकासका कारण बारम्बार परिमार्जन गर्नुपर्दा ढिलाइको सामना गर्न बाध्य भएको थियो ।

सन् २०२४ मा सुरु गरिएको यस परियोजनामा सिंह र इन्टेलिफ्लिक्स स्टुडियोका सह–संस्थापक गुरदीपसिंह पालले निर्देशक र सिनेमाटोग्राफरसहित सानो टोली बनाएर काम अघि बढाएका थिए । पाल यसअघि माइक्रोसफ्टमा एआई र प्रोडक्ट विकाससँग सम्बन्धित जिम्मेवारीमा थिए ।

फिल्मको कथा एक किशोर वरिपरि केन्द्रित छ, जसले आफू १९औँ शताब्दीका सिख शासक महाराजा रणजीत सिंहको पुनर्जन्म भएको विश्वास गर्छ । यस्ता ऐतिहासिक र बहुपरत कथा सामान्यतया महँगो निर्माणसँग जोडिन्छन्, तर एआईले लागतलाई करिब दशौँ भागमा सीमित गरेको निर्माण पक्षको दाबी छ ।

तर यथार्थपरक दृश्य निर्माण सबैभन्दा ठूलो चुनौती बनेको छ । एआई मोडेलहरू भारतीय अनुहार र सिख ऐतिहासिक पात्रहरूका लागि पर्याप्त प्रशिक्षित नभएकाले बारम्बार समस्या समाधान गर्नुपरेको थियो ।
फिल्ममा पूर्ण एआई प्रयोग भए पनि केही मानवीय पक्ष जोगाइएको छ । विशेषगरी, संगीतमा परम्परागत शैली समेटिएको छ, जसमा चर्चित गायक सुखविन्दर सिंहको स्वर रहनेछ ।

एआई फिल्म निर्माणप्रति रुचि फिल्म उद्योगबाहिर पनि फैलिन थालेको छ । सिंहका अनुसार केही मन्दिर ट्रस्टहरूले समेत पौराणिक कथामा आधारित एआई फिल्म बनाउन प्रस्ताव पठाएका छन् ।