काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिपोर्टअनुसार उनलाई अस्पताल पुर्‍याएर करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर चिकित्सकको प्रयास सफल हुन सकेन। मणिपाल अस्पतालका चिकित्सक डा. शेखर सालकरका अनुसार उनको बिहान करिब ५ः२० बजे निधन भएको हो। घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरी पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ।

ADVERTISEMENT

नाना पाटेकरले हिन्दी र मराठी फिल्ममा चार दशकभन्दा लामो समय अभिनय गरेका थिए। सन् १९८९ मा आएको ‘परिन्दा’मा अन्नाको भूमिका निर्वाह गरेपछि उनी चर्चामा आएका थिए। उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए।

ADVERTISEMENT

त्यसपछि ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार तथा ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। उनले आफ्नो करियरमा तीन राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए। भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो।

गम्भीर भूमिकाका लागि परिचित पाटेकर हास्य भूमिकामा पनि उत्तिकै लोकप्रिय थिए। सन् २००७ को ‘वेलकम’मा उनले ग्याङ्स्टर उदय शेट्टीको भूमिका निर्वाह गरेका थिए, जुन निकै चर्चित बनेको थियो। उनले ‘वेलकम ब्याक’मा पनि यही भूमिका दोहोर्‍याएका थिए।

ADVERTISEMENT

फिल्म ‘प्रहार : द फाइनल अट्याक’का लागि उनले भारतीय सेनासँग सैन्य तालिमसमेत लिएका थिए। उनले मराठा लाइट इन्फेन्ट्रीसँग तालिम लिएर सैनिक जीवनलाई नजिकबाट बुझेका थिए।

कारगिल युद्धका क्रममा पनि उनी सैनिकहरूसँग बसेका थिए। उनले सैनिकहरूसँग समय बिताएर उनीहरूको हौसला बढाएका थिए।

नाना पाटेकर अभिनयसँगै सामाजिक काममा समेत सक्रिय थिए। किसान आत्महत्यालगायत सामाजिक विषयमा उनले सार्वजनिक रूपमा काम गर्दै आएका थिए।