पोखरा । गण्डकी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि कास्की र स्याङ्जा जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएका छन्।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार मनसुन सक्रिय भई बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएपछि दुवै जिल्लाले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष सतर्कता अपनाएका हुन्।
जिल्ला प्रशासन कार्यालय कास्कीले साउन २ र ३ गतेका लागि जारी सूचनाअनुसार जिल्लाबाट छुट्ने, जिल्लाभित्र भित्रिने तथा पोखराबाट ग्रामीण क्षेत्रमा जाने सवारी साधनहरू साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न रोक लगाएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, लामो दूरीको यात्रा नगर्न तथा आकस्मिक बाढीको जोखिम रहेकाले खोला, खोल्सा र नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पनि साउन २ र ३ गते सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
राजमार्गबाहेकका शाखा सडकहरूमा पनि सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ। साथै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न र अत्यावश्यक अवस्थामा मात्र सुरक्षा निकायसँग समन्वय गरी यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।






