काठमाडौं । बाढीपहिरोका कारण देशको मुख्य लाइफलाइन सडक नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक उपाय अपनाइने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार बिहीबारदेखि दैनिक २०० वटा ट्रक परिचालन गरी तराईबाट ग्यास ढुवानी गरिने भएको हो ।

ADVERTISEMENT

ठूला ग्यास बुलेट काठमाडौं भित्रिन नसकेपछि उपत्यकाका खाली सिलिन्डर ट्रकमार्फत तराईका उद्योगमा पठाएर रिफिल गरी पुनः उपत्यका ल्याउने व्यवस्था मिलाइएको छ ।

ADVERTISEMENT

नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा उपत्यका, काभ्रे र धादिङका १८ वटा ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन् । त्यसैले काठमाडौं उपत्यकाका खाली सिलिन्डर हेटौँडा, चितवन, नवलपरासी र वीरगन्जका उद्योगमा पठाएर ग्यास भरी ल्याइनेछ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार दैनिक १०० वटा ट्रकले खाली सिलिन्डर तराई लैजाने र १०० वटा ट्रकले भरिएका सिलिन्डर उपत्यका भित्र्याउनेछन् ।

ADVERTISEMENT

‘काठमाडौँको माग धान्न दैनिक १०० वटा ट्रकले खाली सिलिन्डर तराईतर्फ लैजाने र १०० वटा ट्रकले भरिएका सिलिन्डर उपत्यका भित्र्याउने गरी हामीले भोलिदेखि ढुवानीलाई तीव्रता दिँदैछौँ,’ चन्दले भने ।

सुरुवाती चरणमा बुधबारदेखि नै केही ट्रकले सिलिन्डर ढुवानी गर्न थालेका छन् । बिहीबारदेखि भने दैनिक २०० ट्रक पूर्ण क्षमतामा परिचालन गरिने संघले जनाएको छ ।

ठूला बुलेटका लागि कान्ति लोकपथ र त्रिभुवन राजपथ साँघुरो तथा जोखिमयुक्त देखिएपछि बुलेटलाई तराईमै अनलोड गरी १५ टन क्षमताका साना तथा मझौला ट्रकमार्फत ग्यास ढुवानी गर्न लागिएको हो ।

वैकल्पिक सडकमा ग्यास बोकेका ट्रकको आवागमन सहज बनाउन स्थानीय प्रशासन, सडक डिभिजन तथा सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।

त्यस्तै, ढुवानीका क्रममा कालोबजारी र मनपरी भाडा असुली रोक्न निश्चित भाडादरसमेत निर्धारण गरिएको छ । हेटौँडाबाट काठमाडौंसम्म खाली सिलिन्डर लैजाने र ग्यास भरेर फर्काउने गरी १२ चक्के ट्रकको दुईतर्फी भाडा ८० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी चितवनबाट ९३ हजार, वीरगन्ज/कलैयाबाट ९५ हजार र नवलपुरबाट ९८ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता

नेपाल आयल निगमले विपद्को अवस्थामा घरायसी उपभोक्ताको ग्यास आपूर्तिलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । बिहीबारदेखि ट्रकमार्फत ल्याइने ग्यास मुख्यतः घरायसी उपभोक्तालाई वितरण गरिनेछ ।

होटल तथा रेस्टुरेन्टलगायत व्यावसायिक उपभोक्ताले भने तत्कालका लागि तराईमा रिफिलिङ भइरहेका सम्बन्धित प्लान्टबाट आफ्नै खर्चमा ग्यास ढुवानी गरेर ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

‘दोहोरो ढुवानी खर्च लागे पनि हामी उपत्यकावासीको चुलो निभ्न दिने छैनौँ,’ अध्यक्ष चन्दले भने । दैनिक २०० ट्रक पूर्ण क्षमतामा परिचालन भएपछि उपत्यकामा ग्यास अभाव हुने त्रास तथा बजारमा हुनसक्ने कृत्रिम अभाव र मूल्यवृद्धि धेरै हदसम्म नियन्त्रण हुने उद्योगीको अपेक्षा छ ।