काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार तत्कालका लागि काठमाडौं उपत्यकाबाहिर विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिँदै दर्ता खुला गरिएको हो।

काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र सार्वजनिक सवारी दर्ता खुला गरिएको छ। विभागले सोहीअनुसार सवारीसाधन दर्ता गर्न सबै प्रदेश सरकारलाई सूचित गरेको जनाएको छ।

ADVERTISEMENT

यसअघि सरकारले जेठ ७ गतेदेखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। दर्ता रोक्नुको कारण र अहिले किन खुला गरिएको भन्ने विषयमा विभागका अधिकारीहरूले स्पष्ट कारण सार्वजनिक गरेका छैनन्।

ADVERTISEMENT

विभागका निर्देशक मणिराम भुसालले काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यकाबाहिर सार्वजनिक सवारी दर्ता खुला गरिएको बताएका छन्।

यसअघि विभागले मालवाहक सवारीसाधनको दर्ता भने साउन १८ गतेदेखि नै खुला गरेको थियो। त्यस्तै, असार ८ गतेसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गरिएको थियो।

ADVERTISEMENT