काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको दुवै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले आर्थिक विधेयकमाथि राखेको संशोधन फिर्ता लिएका थिए । सांसदहरू गंगालक्ष्मी अवाल, पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले विधेयकमाथि राखेको संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।

ADVERTISEMENT

यस्तै, अर्थमन्त्री वाग्लेले राखेको राष्ट्र ऋण उठाउने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्’, उनले भने, ‘तर, ऋण लिएर निर्माण गरिएको दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।’

ADVERTISEMENT

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राखेको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए ।