काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको मुख्य राजमार्गमा ठूलो क्षति पुगेपछि रसुवा र आसपासका क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ। बाढीले सडकको विभिन्न भाग कटान गर्नुका साथै सडक संरचनामा क्षति पुर्याएपछि नियमित यातायात सञ्चालनमा समस्या भएको हो।
मुख्य राजमार्गमा यातायात सहज रूपमा सञ्चालन हुन नसकेपछि स्थानीय बासिन्दाले आवतजावत सहज बनाउन वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याएका छन्। स्थानीय तह र बासिन्दाको पहलमा प्रयोगमा ल्याइएको उक्त मार्ग अहिले रसुवा आवतजावत गर्ने यात्रु तथा सवारीसाधनका लागि महत्वपूर्ण माध्यम बनेको छ।
तर, वैकल्पिक मार्गको अवस्था भने सहज छैन। सडक साँघुरो, उबडखाबड र ठाउँ–ठाउँमा जोखिमपूर्ण रहेकाले सवारीसाधन सञ्चालन गर्न चालकलाई कठिनाइ भइरहेको छ। कतिपय स्थानमा सडकको चौडाइ कम हुँदा विपरीत दिशाबाट आएका सवारीसाधनलाई पास हुनसमेत समस्या हुने गरेको छ।
बाढीपछि मुख्य सडकबाट यात्रा गर्न नसक्ने भएपछि यात्रुहरू जोखिम मोलेरै वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। लामो समयसम्म सडक अवरुद्ध हुँदा दैनिक काम, व्यापार–व्यवसाय तथा अत्यावश्यक सेवाका लागि आवतजावत गर्ने स्थानीयसमेत प्रभावित भएका छन्।
विशेषगरी बिरामी, वृद्धवृद्धा, बालबालिका तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गका कारण थप सास्ती व्यहोर्नुपरेको स्थानीयको भनाइ छ। वर्षाका कारण सडक थप बिग्रने जोखिमसमेत रहेकाले आगामी दिनमा यात्रा अझ कठिन हुन सक्ने चिन्ता स्थानीयमा छ।
मुख्य राजमार्गको क्षतिग्रस्त संरचना मर्मत गरी यातायात नियमित सञ्चालनमा ल्याउन दीर्घकालीन काम आवश्यक देखिएको छ। त्यसअघि वैकल्पिक मार्गलाई सुरक्षित र व्यवस्थित बनाउन सडक फराकिलो पार्ने, जोखिमयुक्त स्थानमा संरक्षण संरचना निर्माण गर्ने तथा नियमित मर्मतसम्भार गर्नुपर्ने स्थानीयको माग छ।
भोटेकोशी बाढीले सडक तथा अन्य पूर्वाधारमा पुर्याएको क्षतिका कारण रसुवाको यातायात सम्पर्कमा परेको असर तत्काल समाधान नहुँदा स्थानीय जनजीवन अझै प्रभावित हुने देखिएको छ।








