पोखरा । भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको काम पोखरामा जारी छ। विभिन्न जिल्लामा भेटिएका शव राख्ने पर्याप्त स्थान नभएपछि ती शव पोखरा ल्याइएको हो।
धादिङ, गोरखा, नवलपुर र तनहुँमा भेटिएका शव पोखरा ल्याइएको जनाइएको छ। पोखरा ल्याइएका १०२ शवमध्ये १६ वटा शवको सनाखत भएको छ भने बाँकी शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहरनजिकको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिँदै छ।
अस्पतालबाट शव निकालेर व्यवस्थापनस्थलतर्फ लैजाने काम भइरहेको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको थियो। बाढी प्रभावित क्षेत्रमा भेटिएका शव व्यवस्थापन गर्न स्थानीय तह तथा सुरक्षा निकायले समन्वय गरिरहेका छन्।








