रसुवा।  रसुवा भन्सार कार्यालयमा रोकिएको सामान जाँचपास पुनः सुरु भएको छ । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर अनिवार्य गर्ने निर्णय तत्काल पूर्ण रूपमा कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले सामान गोदाममा लगेर स्टिकर टाँसेपछि मात्र बिक्री गर्ने सहमति भएपछि जाँचपास अघि बढेको हो ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीपछि प्रभावित बनेको रसुवा भन्सार मितेरी पुल निर्माणपछि गत पुस १७ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । तर एमआरपी स्टिकर अनिवार्य कार्यान्वयनमा आएपछि केही समय जाँचपास रोकिएको थियो । हाल सहमतिपछि प्रक्रिया नियमित बनेको भन्सार कार्यालयले जनाएको छ ।

जाँचपास सुरु भएसँगै राजस्व सङ्कलन बढेको छ । पहिलो दिन करिब ४ करोड ५० लाख र दोस्रो दिन २ करोड गरी दुई दिनमा करिब ६ करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । दैनिक उपभोग्य सामग्रीको आयात पनि सुरु भएको छ ।

पहिलो दिन ३२ र दोस्रो दिन ४१ गरी ७३ कन्टेनर जाँचपास भएर गन्तव्यतर्फ पठाइएको छ । तीमध्ये ३७ कन्टेनरमा चिनियाँ स्याउ आयात भएको छ । हाल भन्सार क्षेत्रमा १५० भन्दा बढी कन्टेनर रहेका छन् ।

ल्हेन्देखोलाको बाढीले भन्सार यार्ड, सुक्खा बन्दरगाह र संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बगर र अवरोध पूर्णरूपमा नहटेकाले अझै पनि जाँच प्रक्रियामा कठिनाइ रहेको छ । यार्डभित्रका संरचना अस्थायी अवस्थामा रहेकाले सामान व्यवस्थापनमा समस्या देखिएको छ ।

सुक्खा बन्दरगाह पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसकेको र सफाइ तथा मर्मत कार्य सीमित मात्रामा भइरहेको बताइएको छ । बाढीले पुर्‍याएको क्षतिको दीर्घकालीन समाधानका लागि पुनर्निर्माण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । व्यापार पुनः चलायमान हुँदै गएको र बजार आपूर्ति तथा राजस्वमा सुधार हुने अपेक्षा गरिएको छ ।