काठमाडौं, भदौ ५ । नेकपा एमालेको सदस्यता नवीकरण गर्नेको संख्या विगतको तुलनामा उल्लेख्य घटेको छ। देशव्यापी सदस्यता नवीकरण अभियानअन्तर्गत साउनसम्म करिब ५३ प्रतिशत सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन्।
एमालेमा गत वर्षसम्म ६ लाख ८६ हजार ७४८ सदस्य रहेकामा यसपटक करिब ३ लाख ५९ हजारले मात्र सदस्यता नवीकरण गरेका हुन्। यसअनुसार करिब ४७ प्रतिशत सदस्यले अझै सदस्यता नवीकरण गरेका छैनन्।
प्रदेशगत विवरणमा सुदूरपश्चिममा नवीकरण दर सबैभन्दा कम देखिएको छ। त्यहाँ विगतका ६३ हजार ११० सदस्यमध्ये करिब १७ हजारले मात्र नवीकरण गरेका छन्। प्रदेश कमिटीका अनुसार अद्यावधिकपछि यो संख्या २१ हजारसम्म पुग्न सक्छ।
मधेशमा १ लाख ५६ हजार १९५ मध्ये करिब ६० हजार, कोशीमा १ लाख १४ हजार ७६६ मध्ये ६२ हजार र बागमतीमा १ लाख १४ हजार ५६६ मध्ये करिब ६६ हजारले सदस्यता नवीकरण गरेका छन्।
गण्डकीमा ५६ हजार ५२ मध्ये करिब ३० हजार ५००, लुम्बिनीमा ८० हजार ५७९ मध्ये करिब ४२ हजार र कर्णालीमा ४८ हजार ५३८ मध्ये करिब २८ हजारले नवीकरण गरेको सम्बन्धित प्रदेश कमिटीले जनाएका छन्।
एमाले नेताहरूले सदस्यता नवीकरणको अन्तिम विवरण आउन बाँकी रहेको बताएका छन्।
नेतृत्वको कार्यशैली, अवसरको असमान वितरण र लामो समय पार्टीमा सक्रिय रहेका कार्यकर्ताले भविष्य नदेख्नुले सदस्यता नवीकरणप्रति उत्साह घटेको हुन सक्ने राजनीतक बिश्लेषकहरुले बताएका छन्।
एमालेका नेताहरुले पुराना सदस्यसँगै युवाले पनि पार्टीमा भविष्य देख्ने वातावरण बनाउनुपर्ने बताएका छन्। पार्टी पुनर्गठनमार्फत तीन पुस्तालाई जोड्ने योजना अघि सारिएको भए पनि त्यससम्बन्धी प्रतिवेदन कार्यान्वयनमा आएको छैन । यसरी हेर्दा सदस्यता नवीकरणको घट्दो दर एमालेका लागि संगठनात्मक चुनौतीसँगै नेतृत्व, कार्यकर्ता व्यवस्थापन र नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने नीतिको परीक्षणसमेत बनेको छ।






