काठमाडौं । एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतासँगै नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारी साधनमा एनसेलको आईओटी सिम जडान गरिने भएको छ।
आईओटी सिममार्फत सवारी साधनमै इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ। यसले बीवाईडी एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ।
अब प्रयोगकर्ताले मोबाइल फोन कनेक्ट गर्न वा छुट्टै वाई–फाई हटस्पट प्रयोग गर्नुपर्ने बाध्यता रहने छैन। सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सकिनेछ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार सहकार्यले बीवाईडीका सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीलाई थप सहज बनाउनेछ।
यो सुविधा नयाँ बीवाईडी खरिद गर्ने ग्राहकमा मात्र सीमित रहने छैन। यसअघि नै बीवाईडीका सवारी साधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभरका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा गएर एनसेलको आईओटी सिम जडान गरी सेवा लिन सक्नेछन्।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भरपर्दो इन–भेइकल कनेक्टिभिटीले बीवाईडीका स्मार्ट सुविधाको प्रयोगलाई थप प्रभावकारी बनाउने बताए।
कनेक्टिभिटी प्लान, सेवा अवधि र शुल्क भने सवारी साधन तथा सेवा प्याकेजअनुसार फरक हुने कम्पनीले जनाएको छ।





