काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु सँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। फागुन ५ गतेदेखि सञ्चालनमा आएको यस अफरअन्तर्गत एनसेलका ग्राहकहरूले दूरसञ्चार सेवाको प्याक खरिद गर्दा फुडमाण्डुमा खाना अर्डर गर्दा रु. १५० छुट पाउने सुविधा प्राप्त गर्नेछन्।
यो अफरअनुसार, रु. ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले रु. १५० बराबरको छुट कुपन प्राप्त गर्नेछन्। उक्त कुपन फुडमाण्डु मार्फत रु. १,००० वा सोभन्दा बढी मूल्यको खाना अर्डर गर्दा प्रयोग गर्न सकिनेछ। यसरी, ग्राहकहरूले आफ्नो आवश्यक दूरसञ्चार सेवा लिँदै दैनिक जीवनशैलीसँग जोडिएको अतिरिक्त सुविधा पनि लिन सक्नेछन्।
ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत सजिलै खरिद गर्न सक्नेछन् भने नजिकैको एनसेल सेन्टर वा आधिकारिक पसलबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ। प्याक खरिद गरेपछि सम्बन्धित छुट कुपन ग्राहकको मोबाइल नम्बरमा एसएमएसमार्फत पठाइनेछ।
विशेष कुरा के छ भने, यदि कुनै ग्राहकले अफरमा समावेश एकभन्दा बढी प्याक खरिद गरेमा उनीहरूले त्यहीअनुसार एकभन्दा बढी रु. १५० का छुट कुपनहरू प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकलाई थप बचतको अवसर प्रदान गर्नेछ। प्राप्त कुपनहरू फुडमाण्डुको मोबाइल एप (https://foodmandu.app.link/appfmd) वा आधिकारिक वेबसाइट (https://foodmandu.com) मार्फत अर्डर गर्दा प्रयोग गर्न सकिन्छ।
कम्पनीका अनुसार, कुपन जारी भएको मितिदेखि २८ दिनसम्म मान्य रहनेछ। साथै, यो कुपन अन्य व्यक्तिलाई हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको छ, जसले गर्दा सुविधा केवल सम्बन्धित ग्राहकले मात्र उपभोग गर्न सक्नेछन्। यद्यपि, यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक तथा गिफ्ट प्याक खरिदमा भने लागू नहुने कम्पनीले स्पष्ट पारेको छ।
एनसेलका चीफ कन्ज्युमर बिजनेश अफिसर उपङ्ग दत्तले यस सहकार्यबारे प्रतिक्रिया दिँदै भने, “हामी एनसेलमा कनेक्टिभिटीभन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौं भन्ने विषयमा सधैं केन्द्रित रहन्छौं। फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहज रूपमा सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ।”
यस सहकार्यले एनसेलले आफ्ना डिजिटल सेवाहरूलाई ग्राहकको दैनिक जीवनशैलीसँग जोड्दै मूल्य अभिवृद्धि गर्ने रणनीति अवलम्बन गरेको स्पष्ट देखिन्छ। डिजिटल सेवाको विस्तारसँगै ग्राहक अनुभवलाई थप समृद्ध बनाउने उद्देश्यले गरिएको यो पहललाई बजारमा सकारात्मक रूपमा हेरिएको छ।
हाल फुडमाण्डुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा विस्तार गरिसकेको छ। देशका प्रमुख सहरहरूमा सेवा उपलब्ध भएकाले यो अफर ती क्षेत्रका ग्राहकहरूका लागि अझै आकर्षक बन्ने अपेक्षा गरिएको छ।
यस सहकार्यले दूरसञ्चार र डिजिटल फुड डेलिभरी सेवाबीचको सम्बन्धलाई नयाँ आयाम दिएको छ भने ग्राहकलाई एउटै प्लेटफर्मबाट सेवा र सुविधा दुवै प्राप्त हुने वातावरण सिर्जना गरेको छ।








