काठमाडौं । आगामी भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० गतेको समय निर्धारण गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ।

निर्धारित दिन कुनै कारणले बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टामा कार्यक्रम सञ्चालन गर्नुपर्ने नियममा उल्लेख छ। नियमावलीमा व्यवस्था भए पनि लामो समयदेखि यसको कार्यान्वयनबारे प्रश्न उठिरहेका बेला सभामुखले मिति तोकेका हुन्।

ADVERTISEMENT

नियम ५७ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ।

ADVERTISEMENT

त्यस्तै, प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई दिनुपर्ने व्यवस्था नियम ५८ मा छ। प्राप्त प्रश्न स्वीकारयोग्य भए नभएको निर्णय सभामुखले गर्ने व्यवस्था नियम ५९ मा गरिएको छ।

ADVERTISEMENT

नियम ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तरअन्तर्गत प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा कुनै छलफल भने गर्न पाइने छैन।