काठमाडौँ। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले युवाहरूले पुनः आन्दोलन गर्न नपर्ने वातावरण सिर्जना गर्ने गरी कानुन, नीति तथा नियम निर्माणमा ध्यान दिने बताएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएकाले त्यस्ता घटना दोहोरिन नदिन विशेष ध्यान दिइने बताए। उनले उक्त आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएको उल्लेख गर्दै भविष्यमा युवाहरूलाई सडकमा उत्रिन नपर्ने अवस्था बनाउने प्रतिबद्धता व्यक्त गरे।
सभामुख अर्यालले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि नयाँ कानुन अनिवार्य नपर्ने भए पनि आवश्यक परे छिटो कानुनी व्यवस्था गरेर काम अघि बढाउनुपर्नेमा जोड दिए।
उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। साथै सबै राजनीतिक दल र सांसदहरूसँग सहकार्य तथा समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गरिने उनले बताए।





