काठमार्डौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज भने दोहोरो अंकले बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

मंगलबार तीन अर्ब आठ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बुधबार ३४६ स्टकको ५२ हजार ३३६ पटकको कारोबारमा तीन अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँबराबरको एक करोड ६ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड ३५ लाख १३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको करिब १८ करोड र अपि पावरको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ७३ रुपैयाँ २० पैसा बढेर ५६१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।

ADVERTISEMENT

माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य करिब १२ प्रतिशत बढेको छ । बुंगल हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १३.२६ प्रतिशत घटेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। वित्त, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।