रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा नौ जना बेपत्ता भएका छन् भने दुई जना गम्भीर घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजे अविरल वर्षासँगै आएको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित ६ वटा घर तथा गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा परी तीन जनाको शव फेला परेको छ । मृतकमध्ये ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको पहिचान भएको छ । तेस्रो मृतकको पहिचान खुल्न बाँकी छ ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई घटनास्थलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।









