काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र २८ गते हुने महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विभिन्न तयारी समिति गठन गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन मूल आयोजक समिति मातहत रहने विभिन्न समितिका संयोजक तोकेको हो।

ADVERTISEMENT

बैठकले अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरेको छ। यस्तै, उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ।

ADVERTISEMENT

महामन्त्री भुवन पाठकलाई समारोह व्यवस्थापन समितिको संयोजक बनाइएको छ भने महामन्त्री राजेन्द्र गुरुङले जिल्ला समन्वय तथा सम्पर्क समितिको नेतृत्व गर्नेछन्। कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई आर्थिक समितिको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको नेतृत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति तथा प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।

ADVERTISEMENT

केन्द्रीय सदस्य दीपक रञ्जितको नेतृत्वमा शान्ति, सुरक्षा तथा व्यवस्थापन समिति, इन्जिनियर सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति र ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। साथै, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

यसैबीच, बैठकले वर्तमान अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। प्रदेश सरकार गठनसम्बन्धी भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको छ।

साथै, पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेश संसदीय दल तथा प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको राप्रपाले जनाएको छ।

1b432523-194d-43d6-8e1e-3474a22bbbf6