काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुनसरीसहित तराई मधेसलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा उहाँहरूले पछिल्लो समय सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव देखिएको भन्दै तत्काल पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद भरतबहादुर खड्काले सुनसरीसहित तराई मधेस क्षेत्रमा केही दिनअघि भएका घटनाका सम्बन्धमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरे । यस्ता घटनालाई गम्भीर रूपमा लिएर आगामी दिनमा हुन नदिने गरी सरकारले काम गर्नुपर्ने उनले सुझाव दिए ।
सांसद मरेशकुमार सिंहले सुनसरीसहितका क्षेत्रमा केही दिनअघि भएको घटना समाधानमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खेलेको भूमिकाको प्रशंसा गरे । उनले तराई मधेशमा हुने अन्दोलन, घटना र विवादमा सिधै गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताए ।
सांसद शिवशंकर यादवले सुनसरीलगायत क्षेत्रमा केही दिन अघि भएका घटनाका पीडित परिवारलाई न्याय दिन सरकारले गरेको पहलको प्रशंसा गर्दै बाध्यकारी अवस्था नआई सुरक्षाकर्मीले गोली चलाउन नहुने धारणा राखे ।
सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव देखिए पनि बजारमा सहजै पाइने गरेको अवस्थाका बारेमा अनुगमन बढाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले हाल खाना पकाउने ग्यासको पनि कृत्रिम अभाव देखिएको बताउँदै तत्काल समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद प्रेमलाल चौधरीले इलामको माईलगायत क्षेत्रमा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै वर्षभरि सुरक्षित आवतजावत हुने गरी यातायातको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद अम्बिकादेवी सङ्ग्रौलाले काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बस केही समयअघि बर्दियामा दुर्घटना भएको स्मरण गर्दै उक्त दुर्घटनाका पीडित परिवारले हालसम्म न्याय नपाएकाले न्यायको माग गरिन्।
सांसद अंकिता ठाकुरले सिमानामा लागुऔषध नियन्त्रण र जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीको सुविधा समयानुसार वृद्धि गर्नुपर्ने बताइन् । उनले सरकारी अस्पतालमा रेविजको भ्याक्सिनको तत्काल पूर्ति गर्न माग गरिन् । सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहण गर्ने क्रममा निधन हुनुभएका निर्मल पूर्जा लगायत आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई राष्ट्रिय विभूतिका रूपमा स्मरण गर्नुपर्ने सुझाव दिइन् ।
कांग्रेस सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पुल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पु¥याउन समस्या भएको भन्दै चाँडे निर्माण गर्न सरकारसँग माग गरे ।
रास्वपा सांसद लेखजंग थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेविज सङ्क्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग अपिल गरे । उनले ५० भन्दा बढी जनावरमा लक्षण देखिएको र १५ वटा जनावर मरिसकेको जानकारी गराए ।
नेकपाका सांसद रमेशकुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि अन्योलमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
रास्वपाकै सांसद शम्भुकुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
रास्वपा सांसद भरत पराजुलीले विपी राजमार्गमा साउन १८ गते सिन्धुलीमा बस र कारको ठक्करमा परी चारजना सवार सुनकोसी नदीमा परेको तर अहिलेसम्म खोजी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।




