काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा ओर्लेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशत घटेको छ। अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार चार अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ३४३ स्टकको ५२ हजार २७२ पटकको कारोबारमा चार अर्ब ७ करोड आठ लाख ५३ हजार रुपैयाँबराबरको एक करोड ७ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ।
मंगलबार खानीखोला हाइड्रोपावर कम्पनीको ४० करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँ र नेसनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
आज पनि एभरेष्ट कलरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य निरन्तर १२औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। खानीखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।




